Thursday, June 11, 2015

एक कविता

‘भोक लाग्यो’ ठिटोप्रति
न गाँसको प्रबन्ध
न बासको ठोगाना
तैपनि
बाँचेकै छ
हुर्केकै छ
यो मगन्ते ठिटो
नयाँ सडकको पेटीमा
पेटीजस्तै
सधैँ असङ्ख्य पाउमुनि कुल्चिएर
कसैको वासनाको द्रुतगामी रकेटमा राखेर
यो ठिटो उडाइयो
अनजान र अनिशिचत भष्यिको अन्तरिक्षमा
विना कुनै स्पेस सूट!
‘अक्सिजन मास्क’
र सुरक्षित सञ्चालनको
तर ऊ
बेवारिसपनाको भारहीन अवस्थाबाट
सकुशल ओर्लियो
झुत्रो प्यारासुट ओढेर
यो शिशु
जन्मियो यिशूजस्तै
कुमारी आमाको गर्भबाट
र बसेको छ अहिले ऊ
नयाँ सडकको पेटीमा
ल्याम्प–पोष्टको ‘क्रस’ बोकेर
पुसको जाडो
रौँ ठाडो हुने रात
उदास, उजाड, फटपाथ
एक कुनामा सिउरेर
सुतेको छ ऊ झुत्रो बोरा र पुराना अखबार ओढेर
अखबार
ः जसको छातीमा छापिएका छन्
ठूला–ठूला अक्षरमा ‘बालदिवस’को समाचार
मन्त्रीज्यूबाट उद्घाटन,
मिठाइ र पुरस्कार वितरण
तथा बाल–बालिकाहरुको प्रगतिको विज्ञापन
सुुत बाबा सुत
सुत ज्ञानी सुत
सुत राजा सुत
यसरी नै निश्चिन्त भई सुत
एक दिन यस्तो पनि आउनेछ
जब तिम्रा यी अखबार र झुत्रे बोराका
लुगा पनि
झुन्ड्याइनेछन्– म्युजियममा
कालुपाँडेजस्तै
कालुपाँडेको लुगासँग
र त्यस बेला लेख्नेछ इतिहासकारले
‘उहिले–उहिले’को नेपालमा
दुई थरीका मानिस थिए
एक थरी
जो अखबारमाथि पलटन्थे
हेडलाइनको सिरानी हालेर
महत्त्वपूर्र्ण खबर बनेर,
अर्को थरी
जो त्यही खबरको न्यानो
पुस–माघको जाडो काट्थे बेखबर भएर
…….उहिले–उहिलेको नेपाल
एउटा वासी अखबारजस्तो थियो।

No comments:

Post a Comment