Thursday, June 11, 2015

साँझको नयाँ सडक जिन्दगीको यात्रा

बाह्य सुकिली नयाँ सडक, छाँट्टिएर
पेटीहरु ओहोर–दोहोर गर्छिन् साँझमा
र स्लिभलेस् ब्लाउजको पाखुरामुनि खिचापोखरी
निसासिन्छ, गल्लीका
काखीका रौँजस्ता झ्वास्स उम्रेका धमिला, दुर्गन्ध
घरहरुका माझमा
पसलहरुका शो–विण्डोभित्र
सू–जि वाँग हाँसो हाँस्तछन् हङकङ सुन्दरी
मैडम टेरिउन, मिस् नाइलन र सुश्री टेरेलिनहरु
र सम्मोहित कुमारी लूपकुमारीहरु
पाखुराभरि पेन्सिलिन इन्जेक्सनको
यात्राका पदचिह्नहरु बोकेर
अँध्यारा गल्लीहरुतिर लम्किन्छन्
ब्रेसरीको खर्पनमा बासी यौवनका फलहरु उचालेर
‘ट्रीप’मा मग्न हिप्पीकुमारको अंगालोमा
अर्धनग्न पीताम्बर साडी–ब्लाउजमा
फ्लावर बेबी हिप्पी मैयाँ नयाँ सडकमा हिंड्छे
नयाँ सडकका तमाम आँखाहरुलाई
आफ्नो नाइटोमा खोपाएर
र वरिपरि उभिएका पीपलको बोटमा धर्मपुत्रहरु
भित्र–भित्रै करुवा भइदिन्छन्
चौतारीवरिपरि उमि्रन्छन्
प. स. क. को डे्रनेजले मिल्काएका फोहोरहरु
र कमलपित्ते आँखाले आउँदो भोलीलाई हेर्दछन्
अखबारका खापाहरु उघारेर।
एउटी माग्ने आइमाईले न्यूज सेन्टरअगाडि उभिएको
सूटेड टाटकुमार नेपाली रित्तो खल्तीको एक्सरे गरिदिन्छे
पाँच पैसा मागेर
र टाटकुमार नेपाली
काठमाडौंको आकाशमा गालीको बेलून उडाएर
भाग्योदय चिट्ठातिर हेरेर आफूलाई थकिदिन्छ।

नयाँ सडकमाथि
बोकेर
उभिनुको कुनै अर्थ पाउँदिनँ
र घरबार शब्दलाई एउटा अर्थ दिन
(दिउसो घर र राति बार आवाद गरेर)
लेटेष्ट कविताको पारिश्रमिकलाई जाँड बनाएर घोक्छु
र नयाँ सडकलाई नाप्छु
नयाँ कविताको प्लट सोच्तै
र अनायास टुँडिखेलतिर लम्किन्छु
वरिपरिका भीडहरुतिर भैरहवा सुगर मिलको हाँसो फालेर
शहीदद्वारतिर पुगेर म अडिन पुग्छु
र अन्तिम खिल्ली चारमिनारको सल्काएर
म रित्तो बट्टाभित्र काठमाडौंको
रिक्तता हालेर मिल्काइदिन्छु
र एक टक शहीदद्वारलाई हेरेर शहीदद्वारतिर
एउटा मौन प्रश्न फाल्छु
शहीदद्वार मलाई हेरेर फिस्स हाँस्छ
र कुहिरोभित्र हराउँछ।

(२०२५–मधुपर्क)

हिंड्दा–हिंड्दै

हिंड्दा–हिंड्दै केही सम्झेर
बटुवा बाटोमा हाँसेझैँ
किसानको हृदय अन्न बनेर
खेतको माटोमा हाँसेझैँ
तिमी हाँस्ता यस्तो लाग्छ प्रिये!
तिमी मेरो साटोमा हाँसेझैँ।

मेरो जीवन लेकझैँ

मेरो जीवन लेकझैैँ बिरानो थियो
मेरो दुनियाँ
मुर्दा मोल्ने बगरझैँ सुनसान थियो
र म आफ्नो जीवनको लेकमा
चमरी गाईको गोठालोझैँ एक्लो थिएँ
तर एक–दिन
तिमी मेरो जीवनमा भैँचालोझैँ अकस्मात् आर्या
तिमीलृ मसित प्र्रीत लायौ
मेरो स्वरमा–स्वर मिलाएर गीत गायौ
मैले बधाई दिएँ आफनो यौवनलाई
अन्तमा तिमीले पनि कसैको प्रीत पायौ
तर
जस्तो कि थियो मलाई डर
निरन्तर अपमानित भएको मानिसको हृदयभित्र
अभिमान थाकेझैँ
वृद्ध शरीरभित्र प्यारमा थाक्यौ
अनि फेरि आउँला भनी
नदीको लहरमा नाचेको पातझैँ
भोरको प्रतीक्षामा बाँचेको रातझैँ
तिमी बेपत्ता भयौ
कुन्नि कता गयौ
यद्यपि मलाई थाहा थियो
तिमी अब कहिल्यै आउँदिनौ
मेरो स्वरमा स्वर मिलाएर अब तिमीले
कहिल्यै गाउँदिनौ
तैपनि मैले तिम्रो प्रतीक्षा गरें
तिमी भने
कुनै अप्ररिद्ध नयाँ लेखकको
प्रथम पुस्तकको दोस्रो संस्करणझैँ
वादा गरेर पनि कहिल्यै आइनौ
म भने
आज पनि विना कुनै आशको
विना कुनै विश्वासको
कुनै कुरुप बूढी कन्याको सिउँदोले
सिन्दूरलाई पर्खेझैँ
तिमीलाई पर्खिरहेछु
किनकि आज म भित्र–भित्रै
हिमशिलाझैँ चर्किरहेछु।

रिक्त शय्याको स्थानबाट

शय्याको भर्खर रिक्त भएको स्थानबाट
उठिरहेछ तातो बाफ
ठ्वाक…ठ्वाक…ठ्वाक
ठक…ठक..ठक्क
तल भर्या…ङमा सुनिन्छ
टाढा गइरहेको
क्रमशः क्षीण भइरहेको
कसैको परिचित
तर असन्तुलित पदचाप
एकछिनको निम्ति वातावरण बेहोश हुन्छ
पुनः सुनिन्छ कोर्राको फटकार
बग्गीको खड–खड, घोडाको चीत्कार
बाटोको ढुङ्गा र माटोको सम्मिलित हाहाकार
म भने शय्यामा पल्टिरहेर
निस्पन्द, निश्चल, चूपचाप
सोचिरहेेछु मैले
एकैछिन पैले
के गरे–प्रणय कि पाप!
पुनः सोच्छु–यो म के सोचिरहेछु
के यो मेरो सोचाइ मात्र? जिज्ञासा मात्र?
कि मेरो अन्तस्ले मसित लुकाएको पश्चात्ताप?

मानी नभएको जिन्दगानी

आउँछन् जब किरण भोरका
झ्यालभित्र ज्वरको रापझैँ
उठ्छु चूपचाप ओछ्यानबाट
घाममा सुकाएको गीलो कपडाको बाफझैँ
हराउछु दिन–दिनभरि घरबाहिर
रक्सी पिएर बिर्सेको पापझैँ
रातको साथमा घर फर्कन्छुु
नशा उत्रेपछिको पश्चात्तापझैँ
आह! यसरी बितिरहेछ जीवन
सन्निपातको रोगीको प्रलापझैँ।

शीत–युद्धकालका बाँदरहरु

हातमा फोहर लागेका
बाँदर सदा र सर्वत्र
दुर्गन्धले पीडित हुन्छ
सुन्तलाको घारीमा ऊ
दुर्गन्धले निसासिन्छ
गुलाफ फुलेको देख्ता
उसले नाक थुन्छ
दूषित हात उचालेर
बचाउने चेष्टा गर्छ
घृणित स्पर्शबाट आफ्नै हातको
अनि सफलताको चीत्कार बोकेर
ऊ वन–वन दगुर्छ
रुख, ढुङ्गा आदिमा हात पुस्छ
खोला–नालाको पानीमा हात चोपेर
ऊ मुक्त हुन खोज्छ दुर्गन्धबाट
त।्क प्रत्येक प्रयासपछि
हात सुँघ्दा दुर्गन्ध
झने बढेको पाउँछ
अनि बहुुलनझैँ
रुख हाँगाहरुका सारा
फलफूलहरु झार्दै
सुगन्ध र स्वादलाई मेटेर
कम गर्न खोज्छ आफ्नो
दुर्गन्धको प्रभावलाई
र अन्तमा निराश भएर
कुनै ठाउँमा बसेर ऊ बर्बरतापूर्वक
घोट्न थाल्छ आफ्नो हात खस्रो
ढुङ्गामाथि
उसले ढुङ्गामा हात घोट्छ र सुँघ्छ
उसले आफ्नो हात सुँघ्छ र घोट्न
थाल्छ र घोटि नै रहन्छ
तबसम्म
जबसम्म कि उसको हात वेकम्मा हँुदैन
शङ्कालु बाँदरको जब एकचोटि
हात गन्हाउँछ
उसले बगैँचालाई उजाड
र आफ्नो हातलाई लुला बनाउँछ।
(रुपरेखा)

रात काठमाडौं प्रातः

बाग्मतीपारि स्याल,
र वारि कुकुरहरु कराउँदा
सशङि्कत माथी कुखुराझैं
घिच्रो तन्काएर
हेर्छन् देवलहरुले
वरिपरिका खोरहरुलाई
पखेटा झारेर
र अन्धकारले तिनलाई डोकोभित्र छोप्छ।
अज्ञात दुलोबाट निस्केर
डस्छ गोमनले काठमाडौंलाई
र विष सर्दै–सर्दै धरहराको टुप्पोनिर पुग्छ,
गल्लीहरुका नसाभित्र रगत
कालो हुँदै जान्छ
एक्कासि अदृश्य कुनै धामीको
मन्त्रमा बाँधिएर
मुग्ध सर्पः नयाँ सडक
सल्बलायँदै आउँछ
आङभरि धामीले फालेका
मन्त्रबद्ध सेता कौडाहरु टाँसेर
र चुस्छ, चुसिरहन्छ रातभरि
बेहोश काठमाडौंको शरीरबाट आफ्नो विष
बल्ल–बल्ल प्रातःमा
चल्मलाउँछ काठमाडौं पीडामय बेहोशीबाट –बिउँझेर
र बोली फुट्छ अनि स्तब्ध धाराहरुका
र हाँस्न थाल्छन् उन्मुक्त झ्याल र ढोकाहरु।

अभिशप्त घर

जब–जब बायाँ र दायाँ पट्टिका छिमेकीहरुले
एकार्काको छानामाथि ढुङ्गा बर्साउँछन्
यस घरको छानामा घाम ताप्न बसेकी बूढीको चश्मा र
कौसीमा रमिता हेरिरहेकी दुलहीका चुराहरु फुट्छन्,
आधारातमा जब छिमकीहरुले आपस्तमा
जहाँबाट जे पायो त्यसैले कुटाकुट गर्छन्
भोलिपल्ट विउँझेर यस घरको बातको रोगी वूढाले
आफ्नो लौरी भाँचिएको पाउँछ।
यस्तो छ अभिशप्त घर
डढेलोको बीचमा उम्रेको खरजस्तो छ यो घर।

दुई सेता कलिला हत्केलाको परेवा : तिम्रो नमस्ते

कौसीमा उभिएर लज्जानत
तिमीले मतिर गुलाफी हतारमा उडाएको
दुई सेता कलिला हत्केलाको परेवा : तिम्रो नमस्ते
दिनभर
मेरा आँखाको आकाशभरि
तिम्रो कौमार्यको सेता पखेटा फिँजाएर उडिरहन्छ
साँझभरि
मेरो हृदयको क्षितिजभरि
तिम्रो कैशोर्यको गुलाफी रङ्ग छरिरहन्छ
रातभरि
मेरो निद्राको दलिनभरि
तिम्रा सप्तरङ्गी चुराहरुको बुट्टा जडिरहन्छ
र सधैँभरि
सधैँ–सधैँ सधैँभरिको निम्ति
मेरो मुटुभरि
मेरो परेलाभरि
मेरो ढुकढुकीभरि
तिम्रो एकलासपनाको अस्फुट प्रार्थना।
खित्काहरु भरिरहन्छ।
दुई सेता कलिला हत्केलाको परेवा :
तिम्रो नमस्ते।

एक कविता

‘भोक लाग्यो’ ठिटोप्रति
न गाँसको प्रबन्ध
न बासको ठोगाना
तैपनि
बाँचेकै छ
हुर्केकै छ
यो मगन्ते ठिटो
नयाँ सडकको पेटीमा
पेटीजस्तै
सधैँ असङ्ख्य पाउमुनि कुल्चिएर
कसैको वासनाको द्रुतगामी रकेटमा राखेर
यो ठिटो उडाइयो
अनजान र अनिशिचत भष्यिको अन्तरिक्षमा
विना कुनै स्पेस सूट!
‘अक्सिजन मास्क’
र सुरक्षित सञ्चालनको
तर ऊ
बेवारिसपनाको भारहीन अवस्थाबाट
सकुशल ओर्लियो
झुत्रो प्यारासुट ओढेर
यो शिशु
जन्मियो यिशूजस्तै
कुमारी आमाको गर्भबाट
र बसेको छ अहिले ऊ
नयाँ सडकको पेटीमा
ल्याम्प–पोष्टको ‘क्रस’ बोकेर
पुसको जाडो
रौँ ठाडो हुने रात
उदास, उजाड, फटपाथ
एक कुनामा सिउरेर
सुतेको छ ऊ झुत्रो बोरा र पुराना अखबार ओढेर
अखबार
ः जसको छातीमा छापिएका छन्
ठूला–ठूला अक्षरमा ‘बालदिवस’को समाचार
मन्त्रीज्यूबाट उद्घाटन,
मिठाइ र पुरस्कार वितरण
तथा बाल–बालिकाहरुको प्रगतिको विज्ञापन
सुुत बाबा सुत
सुत ज्ञानी सुत
सुत राजा सुत
यसरी नै निश्चिन्त भई सुत
एक दिन यस्तो पनि आउनेछ
जब तिम्रा यी अखबार र झुत्रे बोराका
लुगा पनि
झुन्ड्याइनेछन्– म्युजियममा
कालुपाँडेजस्तै
कालुपाँडेको लुगासँग
र त्यस बेला लेख्नेछ इतिहासकारले
‘उहिले–उहिले’को नेपालमा
दुई थरीका मानिस थिए
एक थरी
जो अखबारमाथि पलटन्थे
हेडलाइनको सिरानी हालेर
महत्त्वपूर्र्ण खबर बनेर,
अर्को थरी
जो त्यही खबरको न्यानो
पुस–माघको जाडो काट्थे बेखबर भएर
…….उहिले–उहिलेको नेपाल
एउटा वासी अखबारजस्तो थियो।


म एक पुत्र
एक पति
र एक पिता हुँ

एक न्वारान
एक विवाह
र एक चिता हुँ

म एक होटल
एक बोतल
र एक प्याला हुँ

म एक श्रम
एक उत्पादन
र एक ज्याला हुँ

म एक इन्टरभ्यु
एक लामो क्यु
र एक क्यान्डिडेट् हुँ

म एक खाली बिल
एक खाली विभाग
र एक खाली पेट हुँ

म एक सभा
एक श्रोता
एक वाह
र एक ताली हुँ

म नेताजीको एक गीत
एक भाषण
र एक गाली हुँ

म एक जुलूस
ए उफ्र्याइँ
एक नारा
र एक झण्डा हुँ
१०
म एक आवश्यकता
एक माग
एक विरोध
र एक डण्डा हुँ
११
म केवल एक जुत्ता
एक सुरुवाल
एक कमीज
र एक कोट हुँ
१२
बस म केवल
एक क्रान्ति
एक प्रजातन्त्र
एक चुनाउ
र एक भोट हुँ
केवल एक भोट हुँ ।

दुई टुक्रा

१.जहिले पनि भर्खरकी किशोरीजस्ती
साँच्चिकै तिमी हिमालकी छोरीजस्ती
कुन्नि के छ तिमीमा, जो अरुमा छैन
कि तिमीलाई जति पाए पनि थोरैजस्ती

२.एकलास तिम्रो बाटोमा रमाइलो साथ दिन सक्तिनँ म
तिमी थाकेर ढल्दा सहाराको हात दिन सत्तिनँ म
बर्सनै नपाई डाँडा काटेको बादल मेरो यौवन
चाहेर पनि ए ओइलाउँदी कली! वर्षाद दिन सत्तिनँ म।

चिसो एष्ट्रे

यहाँ जो आउँछन्
मुटुभरि आगो, ओठभरि ज्वाला बोकेर आउँछन्
न्यहाँ जो बस्छ
हत्केलाभरि खरानी र आँखाभरि धूवाँ बोकेर बस्छन्र

यहाँबाट जो जान्छ
पोल्टाभरि निभेका विश्वासहरू र सपनाहरू सोहोरेर जान्छ
न्यस्तो छ यो चारभञ्ज्याङ् खाल्टो
एउटा चिसो एष्ट्रे जस्तो छ
यो चारभञ्ज्याङ् खाल्टो ।

प्रात: एक आघात

प्रत्येक दिन
चोरझैं सुटुक्क आएर
मलाई भोरले अलिकति निचोर्छ
व्यूझन्छु म किरणहरूको स्पर्शले
देख्छु प्राचीका नियमित रूपमा माझिएका
सेतासेता उज्जवल दाँत
हुन्छ मनको कुनै कुनामा
एक हल्का तर तीक्ष्ण आघात
आह! सकिंदै गइरहेछ मेरो जीवन
प्रत्येक दिन एक निश्चित मात्रामा टुथपेष्टझैं।

तीतरा, बट्टाई र भक्कूको राँगोका सन्तानहरुप्रति

जर्मनका धावैमा होस्
वा बर्माको घेरामा
मलायाका रवडका वनमा होस्
या नेफा र लद्दाखका पराइ लडाइँमा
ती जो मरे
विना कुनै स्वार्थ
विना कुनै अर्थ
व्यर्थ
तीतरा, बट्टाई र भक्कूको राँगाजस्तै
अरुको हा…हा…….हामा लागेर
अरुको थपडी र नाराले जागेर
अरुले ख्वाएको जाँड र कटले मात्तिएर
‘आयो गोर्खाली’ भन्दै
(गोरु खालि बन्दै!)
युद्धमा हाम्फालेर
ती मरेका लोग्नेहरुको पेन्सनले
आफ्नो छोराको पास्नी गर्ने ए अभागिनी स्वास्नीहरु!
ती मरेका छोराहरुको आर्जनले आफ्नै चौरासी पूजा गर्ने
ए बूढा–बुढीहरु!
ती वितेका साथीहरुको जर्सी लगाएर
रोदीमा सोल्टी फकाउने ए तन्नेरी मान्छेहरु हो!
ती मरेका प्रेमीहरुको कोसेेली चुरा लाएर
डोलीमा बस्ने ए ब्याहुली जेठी–कान्छीहरु हो!
खूपै सुहाएको छ तिम्रो छातीमा
यी तक्मा ‘परम वीरचक्र’ र ‘भिक्टोरिया क्रस’को
तर के आउँदैन यसबाट कहिलेकाहीं
ओस्एिको गन्ध तिम्रो आफन्तहरुको लाशको!

(पोखरा)

तृप्त ताल

मैले पाएँ
नीलो निम्ता–पत्र
तिम्रा छालहरुको
र बादलु कछारलाई क्षितिजमा
झुण्ड्याएर–मैले
हाम्फालेँ तिम्रो जलमाथि
डुबुल्की मारेँ तिम्रो
गहिर्याीइभित्र आकाशजस्तै
सिङ्गै आकाशजस्तै नाङ्गै
समाविष्ट गर्यौत तिमीले पनि
सम्पूर्ण मलाई आफूमा
आफूभित्र
कुहिरोहरु पन्छाएर
छालजस्तै उर्लिएर
तालजस्तै उदाङ्गिएर
नाङ्गिर
कति सन्तुष्ट हाँसो छर्दैछ अब
मेरो ज्वरमुक्त सूर्य तिम्रो अँगालोमा
अब मलाई मेरो चट्याङ चुटुङहरुले पोल्दैनन्
बिलाइसके तिम्रा अज्ञात कुराहरुभित्र
तिम्रा चञ्चल माछाहरु
अब तिम्रो शीत जललाई उनीहरुले
छिचोल्दैनन्।
उठेर फर्किनुपरे अनि मैले आफ्नो
पूर्वस्थानमा अब म अशान्त हुन्न
असन्तुष्ट हुन्नँ,
कि म स्पष्ट देखिरहेछु
तिमी भित्र मेले कुँदेको
मेरो आफ्नो प्रतिविम्व
चलमलाई रहेको
मेरो आफ्नो छाया
सलबलाइरहेको।

(२०२४–रुपरेखा)