Wednesday, May 27, 2015

मैनबत्तीको शिखा

शुभ्र, शान्त र स्निग्ध
शिखा मैनबत्तीको । 
मानौं, 
प्रथम रजस्वलापछि 
स्नान गरेर 
शारदीय घाममा 
आफ्नो कौमार्य छरेर 
थकित-थकित झैं 
चकित-चकित झैं 
एक्लै-एक्लै मुस्काइरहेको 
अनुहार हो यो कुनै 
सुन्दरी नवयुवतीको । 
शुभ्र, शान्त, स्निग्ध 
शिखा मैनबत्तीको । 
आँखाभरि वेदनाको पानी 
तर, हर्षले हाँसिरहेछ आँखाको नानी 
मानौं, अप्रेशनपछि 
होशमा आएर 
घोर पीडामा पनि 
शिर अलिक उठाएर 
नवजात शिशुलाई नियालिरहेको 
सन्तुष्ट आँखा हो यो 
कुनै पुत्रवतीको । 
शुभ्र, शान्त र स्निग्ध 
शिखा मैनबत्तीको । 
एकातिर धप्प-धप्प 
बलिरहेछ अनुहार 
अर्कातिर तप्प-तप्प 
ढलिरहेछ अश्रुधार । 
मानौं यो कुनै विधवाको 
त्यो क्षणको अनुहार हो 
जब कि उसलाई आएछ याद 
एकसाथ 
सुहागरात र स्वर्गीय पतिको । 
शुभ्र, शान्त र स्निग्ध 
शिखा मैनबतीको । 
(२०१६)

No comments:

Post a Comment