Wednesday, May 27, 2015

मेरो चोक

साँघुरो गल्लीमा मेरो चोक छ । 
यहाँ के छैन? सबथोक छ । 
असङ्ख्य रोग छ, 
अनन्त भोक छ, 
असीम शोक छ, 
केवल हर्ष छैन, 
यहाँ त्यसमाथि रोक छ । 
साँघुरो गल्लीमा मेरो चोक छ । 
यहाँ के छैन? सबथोक छ । 
यो मेरो चोकमा 
देवताले बनाएका मानिस र 
मानिसले बनाएका देवता 
यी दुबैथरीको निवास छ । 
तर यहाँ यी दुबैथरी उदास छन् । 
दुवैथरी निराश छन् । 
मानिस उदास छन् 
किनकि तिनलाई यहाँ 
रात–रात-भरि उपियाँले टोक्छ 
दिन–दिन-भरि रुपियाँले टोक्छ
 र देवता उदास छन् 
किनकि तिनलाई यहाँ 
न कसैले पुज्छ, न कसैले ढोग्छ 
त्यसैले यो चोकमा देवता र मानिसले 
एक अर्कोलाई धिक्कार्दै 
एक साथ पुर्पुरो ठोक्छन् 
साँघुरो गल्लीमा मेरो चोक छ । 
यहाँ के छैन? सबथोक छ । 
(२०१६-साहित्य)

No comments:

Post a Comment